शुक्रवार बिहानैदेखि ललितपुर महानगरमा कर्फ्युको आदेश

शुक्रवार बिहानैदेखि ललितपुर महानगरमा कर्फ्युको आदेश



रातो मच्छिन्द्रनाथको रथ तान्ने क्रममा बिहीवार प्रहरीसँग झडप भएपछि ललितपुर महानगरपालिका क्षेत्रमा शुक्रवारका लागि ललितपुरका प्रमुख जिल्ला अधिकारीले कर्फ्यु आदेश जारी गरेका छन्।

कोरोनाभाइरस महामारीको जोखिमकाबीच लगाइएको निषेधाज्ञाको अवज्ञा गर्दै बिहीवार सयौँको सङ्ख्यामा उपस्थित भएका मानिसहरूले रातो मच्छिन्द्रनाथको रथ तानेर बीच सडकमा ल्याएका थिए।

त्यससँगै विकसित अवस्थाकाबिच प्रजिअ नारायणप्रसाद भट्टद्वारा जारी आदेशमा ललितपुर महानगरपालिकाभित्र बल्खुदेखि मनहरा पुलसम्मको चक्रपथभित्र पर्ने सम्पूर्ण क्षेत्रमा भदौ १९ गते विहान ४ बजेदेखि सोही दिन बेलुका १० बजेसम्म कर्फ्युको समय तोकिएको छ।


आदेशमा थप के भनिएको छ?

सरकारी आदेशमा 'केही उच्छृङ्खल समूह र व्यक्तिहरूले कठिन परिस्थितिको नाजायज फाइदा उठाइ धार्मीक, सांस्कृतिक विश्वासमा खलल पुर्‍याइ शान्ति सुरक्षा भङ्ग गर्नेगरी गैरकानुनी हर्कत गरेको' लेखिएको छ।



'सो अवस्थाबाट शान्ति सुरक्षा भङ्ग हुन सक्ने देखिएको' भन्दै कर्फ्यु लगाइनु परेको जनाइएको छ।

कर्फ्यु लगाइएको समयमा तोकिएको क्षेत्रभित्र आवतजावत गर्न, भेला हुन र जुलुस निकाल्न निषेध गरिएको छ।

तोकिएको क्षेत्रमा कर्फ्युको समयमा घरबाट बाहिर निस्किएमा सुरक्षा अधिकारीले गोली समेत हान्न सक्ने उक्त आदेशमा जनाइएको छ।

बिहीवार के भएको थियो?

ललितपुरको पूल्चोकमा भेला भएका सयौँ स्थानीयवासी र गुठियारलाई प्रहरीले तितरबितर पार्न खोज्दा चारजना प्रहरी घाइते भएको ललितपुर प्रहरीले जनाएको छ।




ललितपुर जिल्लाका प्रहरी प्रमुख टेकबहादुर राईले बीबीसीलाई बताएअनुसार रथ तान्नका लागि करिब २५ सय मानिस भेला भएका थिए।

सर्वसाधारणहरू कति घाइते भए भन्ने जानकारी नभएको प्रहरीले जनाएको छ तर सामाजिक सञ्जालमा घाइते व्यक्तिका तस्बिरहरू देखिएको छ।

प्रहरीले भीड तितरबितर पार्न पानीको फोहोरा र अश्रुग्यास प्रहार गरेको थियो।

उनीहरूलाई नियन्त्रण गर्ने क्रममा प्रहरीमाथि सर्वसाधारणले ढुङ्गा हानेको र नियन्त्रण गर्न खोज्दा झडप भएको प्रहरीले दाबी गरेको छ।

ads
Top 5 on Live CCTV Camera /Nepal/ Chile/Trinidad /Japan/Indonesia Island Biggest  Earthquake caught



Post a Comment

Previous Post Next Post